Pages

Wednesday, June 11, 2014

कोरियामा विदेशी कामदार दुर्घटनामा पर्ने क्रम बढ्दो

सउल, दक्षिण कोरिया
दक्षिण कोरियामा प्रवासी मजदुर दुर्घटनामा पर्ने क्रम बढ्दै गएको छ । यहाँको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत ईपीएस विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार औद्योगिक दुर्घटनामा परेर हताहत हुने स्वदेशीभन्दा विदेशी मजदुरको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गएको हो । तथ्यांक अनुसार सन् २०१३ मा भएको औद्योगिक दुर्घटनाबाट ९१ हजार ८ सय २४ मजदुर प्रभावित भएका थिए । यीमध्ये ५५ सय ८६ जना अर्थात ६.१ प्रतिशत विदेशी कामदार प्रभावित भएका हुन् । दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८८ जना (१.५७ प्रतिशत) रहेको छ ।
सबैभन्दा धेरै औद्योगिक उत्पादन क्षेत्रमा ६३.४ प्रतिशत, कन्स्ट्रक्सन क्षेत्रमा २०.३ प्रतिशत र बाँकी अन्य क्षेत्रमा दुर्घटना हुने गरेको छ । त्यस्तै ३० जनाभन्दा कम श्रमिक भएका साना कम्पनीमा सबैभन्दा धेरै ७८.७ प्रतिशत रहेको थियो । यस्ता साना उद्योगहरूमा ६ प्रकारका दुर्घटना हुने गरेको जनाइएको छ । जसअनुसार यन्त्रभित्र शरीरको अंग चेपिएर भएका घटना सबैभन्दा धेरै ३७.६५ हुने गरेको छ । त्यस्तै खसेर ११.७५, काटिने, अंगभंग हुने, थचारिने १०.३५ र लडेर भएका घटना १०. ५ रहेको छ । कोरियामा विदेशी कामदार फोहोर, खतरनाक र कठिन (थ्रीडी) काम गर्दछन् ।
विदेशी कामदार २००९ मा ५.४, २०१० मा ५.७, २०११ म ७ , र २०१२ मा ६.९ प्रतिशत दुर्घटनामा परेका थिए । सन् २००८ देखि कुल औद्योगिक दुर्घटनामा कमी आएको भए पनि उल्लेखित आँकडा अनुसार विदेशी कामदारको दुर्घटना संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिएको छ । स्वदेशी मजदुरको दुर्घटना प्रतिशत घट्दै आएको छ । सरकारले भने सन् २०१७ सम्ममा सुरक्षामा प्रभावकारिता अपनाएर दुर्घटना मृत्युदर प्रति १० हजारमा ०.६६ मा झार्ने लक्ष्य लिएको छ ।
कोरियामा स्वदेशी श्रमिक १ करोड ८३ लाख ९७ हजार र विदेशी श्रमिक ६ लाख ६९ हजार छन् । ईपीएसबाट प्रवेश गर्नेको संख्या ६३ प्रतिशत अर्थात् ४ लाख २० हजार रहेका छन् । अन्य छोटो अवधिका कामदार रहेका छन् । अवैधानिकको संख्या १ लाख ७० हजार रहेको छ । कुल मजदुर संख्याको ३.६ प्रतिशत विदेशी श्रमिक रहे पनि दुर्घटना ६ प्रतिशतभन्दा बढी भएको तथ्यांकले कोरियामा विदेशी कामदारको सुरक्षा अवस्था कमजोर रहेको देखिएको हो ।
कोरियामा दुर्घटनामा परेर मृत्यु हुने नेपाली कामदारको संख्या पनि प्रत्येक वर्ष बढ्दै गएको छ । सोलस्थित नेपाली दूतावासको तथ्यांक अनुसार औद्योगिक दुर्घटनामा परेर विगत ६ वर्षमा १२ नेपालीले ज्यान गुमाएका थिए । २०१३ मा सबैभन्दा धेरै ५ जनाले दुर्घटनामा परेर ज्यान गुमाएका थिए ।
प्रवासी कामदार दुर्घटनामा पर्नुको कारणबारे भाषकि, सांस्कृतिक कठिनाइ भएको तथ्यांकमा उल्लेख छ । हाल दिइरहेको सुरक्षा तालिम अपूण र अव्यावहारिक देखिएको मजदुर अधिकारकर्मीहरू बताउँछन् । दुर्घटना कम गर्न कोरिया सरकारले वर्षमा १ पटक विदेशी श्रमिकहरूले काम गर्ने कम्पनीमा नै 'अन द स्पोट सुरक्षा तालिम' दिनु जरुरी रहेको उनीहरूको राय छ । कोरियामा यो नियम लागू भए खाडी मुलुक र र मलेसियामा रहेका कोरियन कम्पनीमा काम गर्ने करिब १० लाख नेपाली श्रमिकलाई पनि सुरक्षा प्रणालीमा सहयोग हुन सक्ने उनीहरूको धारणा छ ।
एम्नेस्टी इन्टरनेसनल कोरियाको एक प्रतिवेदनमा सरकारले उद्योगहरूको कडाइसाथ निरीक्षण तथा अनुगमन नगरेका कारण दुर्घटना बढेको उल्लेख छ । कामदारको स्वास्थ्य र सुरक्षाका लागि निर्धारण गरिएको मापदण्ड उद्योगहरूले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको धारा १५५ मा उल्लेख छ । कोरिया सरकारले भने १० प्रतिशत उद्योगहरूमा मात्र निरीक्षण तथा अनुगमन गरेको प्रतिवेदनमा जनाइएको छ । सरकारी अनुगमन नहुनाले कोरियाका अधिकांश उद्योगहरूमा पुराना यन्त्र र त्यस्ता यन्त्रमा जडान गरिएका थोत्रा सेन्सरले काम नगरेका कारण दुर्घटना हुने गरेका छन् । कोरिया आर्थिक सहयोग तथा विकास संस्था (ओईसीडी) का ३० सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा बढी औद्योगिक दुर्घटना हुनेको सूचीमा रहेको छ । कामदारको कार्यअवधि लामो हुनुलाई पनि विश्लेषकहरूले बढी औद्योगिक दुर्घटनाको प्रमुख कारण मानेका छन् । ओईसीडीकै एक प्रतिवेदनमा संसारमा सबैभन्दा लामो समयसम्म श्रम गर्ने देशको रूपमा कोरियालाई मानिएको छ । रात्रिकालीन कामलाई पनि दुर्घटनाको कारक मानिएको ।
दुर्घटनामा परेका कोरियन नागरिकहरूको हकमा भने सन् २०१४ देखि आजीवन पेन्सनको व्यवस्था गर्ने नीति पारित गरिएको भए पनि प्रवासी मजदुरको हकहितका लागि कुनै व्यवस्था गरिएको छैन । यस्तो विभेदप्रति कोरियाको राष्ट्रिय मानव अधिकार आयोग र मजदुर संगठनहरूले सरकारको ध्यान आकर्षण गराउँदै आएका छन् ।

0 comments:

Post a Comment